काठमाडौं। क्रिस्टियानो रोनाल्डोलाई सामान्य विषयमा रातो कार्ड दिएको भन्दै उनकी बहिनीले आक्रोश व्यक्त गरेकी छन् । सामाजिक सन्जालमा विचार राख्दै रोनाल्डोकी बहिनी केटियाले आफ्ना दाजुलाई अस्वभाविक रूपमा दिएको रातो कार्डप्रति कडा आपत्ति जनाएकी हुन् ।
रोनाल्डोेले २ दिनअघि युरोपियन च्याम्पियन्स लिग फुटबलमा स्पेनिस भ्यालेन्सियाविरुद्ध खेल्नेक्रममा खेलको २९औं मिनेटमा रातो कार्ड पाएका थिए । युभेन्टसका लागि च्याम्पियन्स लिगको डेब्यु खेल खेलिरहेका उनले पहिलो खेलमै अप्रत्यासित रूपमा रातो कार्ड पाएपछि उनले रुँदै मैदान छाडेका थिए ।
मैदानमा विपक्षी खेलाडीलाई हात लगाएको आरोपमा रोनाल्डोलाई रातो कार्ड देखाइएको थियो । सोही विषयमा रोनाल्डोकी बहिनीले ‘उनीहरू आफ्ना दाजुलाई सिध्याउन लागेको’ भन्दै रिसाएकी हुन् । ‘यो एकदमै गलत भयो । गलत भएकोमा न्याय हुनेछ,’ केटियाले भनेकी छन्, ‘उनीहरू मेरा दाजुलाई सिध्याउन चाहन्छन् ।’
रातो कार्डपछि रोनाल्डोले लिगअन्तर्गत योङ ब्वाइजसँगको आगामी खेल गुमाउने छन् । अन्य खेलमा लाग्न सक्ने सम्भावित प्रतिबन्धबारे भने युइएफएले हालसम्म बोलेको छैन । एजेन्सी
प्रकाशित मितिः २०७५ असोज ५ शुक्रबार
Comments