काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलकोे पहिलो डेब्यू खेलमै क्रिष्टियानो रोनाल्डोले रातो कार्ड खाएका छन् । बिहीबार बिहान सकिएको खेलमा रोनाल्डोले विपक्षी खेलाडीलाई हात लगाएको आरोपमा २९ औं मिनेटमा रातो कार्ड खाएका हुन् । स्टार खेलाडी रोनाल्डोले रातो कार्ड खाए पनि रोनाल्डोको टिम युभेन्टसले भ्यालेन्सियालाई २–० ले हरायो ।
खेलको २९ औं मिनेटमा स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले भ्यालेन्सियाका डिफेन्डर मुरिलोलाई हात लगाएपछि रेफ्रिले अतिरिक्त रेफ्रिको सल्लाह अनुसार रातो कार्ड दिएका थिए । रातो कार्ड खाँदै रोनाल्डो मैदानबाट बाहिरिए पछि युभेन्टस १० खेलाडीमा सिमिति भएको थियो ।युभेन्टसका मिरलेम पेजेनिकले ४५औं तथा ५१औं मिनेटमा पेनाल्टी मार्फत गोल गरेका हुन् । खेलको अन्तिम समयमा भ्यालेन्सियाले एक गोल फर्काउने मौका पाएको थियो । तर, ड्यानियल परेजोले पेनाल्टीमा गोल गर्न सकेनन् । उसका पेनाल्टी प्रहार युभेन्ट्सका किपरले बचाए ।
समूहको अर्को खेलमा इङ्लिस क्लब म्यान्चेस्टर युनाईटेडले स्विट्जरल्याण्डको योङ ब्वाईज एफसीलाई ३–० ले पराजित गरेको छ । युनाइटेडको जितमा पोउल पोग्बाले २ तथा एन्थोनी मार्सेलले एक गोल गरेका थिए । एजेन्सी
प्रकाशित मितिः २०७५ असोज बिहिबार
Comments