काठमाडौं । सन् २०१६ मा नेपालले बंगलादेशमा बंगबन्धु गोल्डकप फुटबलको उपाधि जितेको थियो । तर, उपाधि जिते पनि आजसम्म आयोजकले पुरस्कारबापत पाउने रकम नेपाललाई दिइसकेको थिएन । सो रकम आयोजकले बल्ल पठाउने तयारी गरेको छ ।
बंगबन्धु आयोजकले नेपाललाई पुरस्कारबापत दिन बाँकी रहेको रकम २५ हजार अमेरिकी डलर अर्को हप्तासम्ममा पठाउने तयारी गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जानकारी दिएको छ । बंगबन्धु गोल्डकप विजेताले पुरस्कार राशि ५० हजार अमेरिकी डलर पाउनुपर्ने थियो । तर, नेपालले हालसम्म सो उपाधिबापत २५ हजार डलर मात्रै पाएको छ ।
यसअघि नेपालले पुरस्कारको बाँकी रकम नपाएको भन्दै अगामी संस्करणमा सहभागिता नजनाउने संकेत गरेपछि आयोजकले बाँकी रकम पठाउन लागेको हो । सो रकम शुक्रबारसम्ममा एन्फाको खातामा आउने एन्फाका उपाध्यक्ष कृष्ण थापाले बताए ।
बंगलादेश फुटबल एसोसिएसनका पदाधिकारीले एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई सन्देश पठाउँदै नेपालले पुरस्कारबापत पाउने बाँकी रकम शुक्रबारसम्ममा पठाइसक्ने बताएका हुन् ।
प्रकाशित मितिः २०७५ असोज २ मंगलबार
Comments