काठमाडौं । युएईमा जारी एसिया कप क्रिकेट प्रतियोगितामा टेस्ट मान्यताप्राप्त राष्ट्रय पाकिस्तानले हङकङलाई हराउँदै विजयी सुरुआत गरेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा पाकिस्तानले हङकङलाई ८ विकेटले स्तब्ध बनाएको हो ।
पाकिस्तान हाबी भएको खेलमा हङकङले ११७ रनको सामान्य लक्ष्य दिएको थियो । जसमा पाकिस्तानले २३।४ ओभरमा मात्रै २ विकेट गुमाएर लक्ष्य भेट्टायो । पाकिस्तानलाई पहिलो खेल जिताउन इमाम उल हकले ५० रनको अर्धशतकीय योगदान दिए । त्यस्तै, बाबर आजमले ३३ र फकर जमानले २४ रन जोडे । बलिङतर्फ हङकङका इसान खानले २ आफ्नो नाममा लेखाए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको हङकङले ३७।१ ओभरमा सबै विकेट गुमाएर मात्रै ११६ रनको स्कोर खडा गरेको थियो । हङकङका लागि अजिज खानले सर्वाधिक धेरै २७ जोड्दा किनचिट साहले २६ रन बनाए । त्यस्तै, कप्तान अन्सुमान रथले १९ रन जोडे ।
यता, हङकङलाई सस्तैमा समेट्न पाकिस्तानका उसमान खानले एक्लैले ३ विकेट लिए भने हसन अली र शहदाब खानले आफ्नो नाममा २–२ विकेट लेखाए । प्रतियोगिताअन्तर्गत आजको खेलमा अफगानिस्तान र श्रीलंका भिड्दैछन् ।
प्रकाशित मितिः २०७५ असोज १ सोमबार
Comments