काठमाडौं । बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा आज भएको फाइलनमा भारतलाई २–१ गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले उपाधि जितेको हो । खेलको १९ औं मिनेटमा इब्राहिम माउद्धिले गोल गर्दै मालदिभ्सलाई अग्रता दिलाएका थिए भने खेलको ६६ औं मिनेटमा फसिर अलिले दोश्रो गोल गरेका थिए।
२,० ले पछि परेको भारतले खेलको अतिरिक्त समयको दोश्रो मिनेटमा सान्त्वना गोल गरेको थियो। उसका लागि ९२ औं मिनेटमा सुमित पासीले सो गोल फर्काएका थिए। सेमिफाइनलमा पाकिस्तानलाई ३–१ गोलले पराजित गर्दै भारत फाइनल पुगेको थियो । यस्तै माल्दिभ्सले सेमिफाइनलमा नेपाललाई ३–० ले हराएको थियो ।
दुवै टोली समूह चरणमा समूह ‘बी’ मा रहेका थिए । समूह चरणमा भारतले माल्दिभ्सलाई २–० ले हराएको थियो । यही भदौ १६ गतेदेखि शुरु भएको प्रतियोगितामा आयोजक बङ्गलादेशसहित भूटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काले प्रतिस्पर्धा गरेका थिए ।
बाह्रौँ संस्करणसम्म आइपुग्दा भारतले सात, माल्दिभ्स, बङ्गलादेश, अफगानिस्तान र श्रीलङ्काले एक÷एक पटक प्रतियोगिताको उपाधि जितिसकेका छन् । नेपाल, भूटान र पाकिस्तानले हालसम्म प्रतियोगिताको उपाधि जित्न सकेका छैनन् । यस जितसँगै माल्दिभ्सले दुई पटक उपाधि हात पारेको छ ।
भारतले सन् १०९३, १९९७, १९९९, २००५, २००९, २०११ र २०१५ मा उपाधि जितेको छ । बङ्गलादेशले २००३, माल्दिभ्सले २००८, अफगानिस्तानले २०१३ र श्रीलङ्काले १९९५ मा उपाधि जितेको थियो । एजेन्सी
प्रकाशित मितिः २०७५ भदौ ३१ आइतबार
Comments