काठमाडौं । इटालियन क्लब युभेन्टसका अर्जेन्टिनी युवा फरवार्ड पाउलो डिबालाले क्लब छाड्ने मनस्थिति बनाएको खबर सार्वजनिक भएको छ । उनले आगामी जनवरी विन्डोमा क्लब छाड्ने पालेर्मोका मालिक माउरिजियो जाम्पारिनीले दाबी गरेका छन् ।
पछिल्ला खबरअनुसार डिबालाका लागि स्पेन र इंग्ल्यान्डका ठूला क्लबको होडबाजी देखिएको छ । त्यसमा पनि डिबालका लागि स्पेनका क्लबले आकर्षक बजेट खर्चिन सक्ने देखिएको छ ।
खबरअनुसार डिबालाले टोलीमा सम्मानजनक भूमिका पाउन छाडेपछि निराश भएको बताइन्छ । जाम्पारिनी ती नै मानिस हुन्, जसले सन् २०१५ मा डिबालाको युभेन्ट्स ट्रान्सफर गराएका थिए ।
तर, टोलीमा क्षमतावान् खेलाडी रहे पनि प्रशिक्षक मासिमिलानो एलेग्रीले डिबालाको उचित उपयोग गर्न विश्लेषण उनले गर्दै आएका छन् । जाम्पारिनीले डबालालाई सकेसम्म चाँडो इटालीबाट बाहिर जान सुझाव दिएको खबरमा दाबी गरिएको छ ।
‘डिबालाजस्ता युवा खेलाडीलाई टोलीबाट बाहिर राख्दा मलाई निकै नरमाइलो लाग्छ,’ उनले भनेका छन्, ‘उनी प्रशिक्षककै कारण बेन्चमा सीमित हुँदै आएका छन्, यो बडा टीठलाग्दो छ ।’
पछिल्ला खबरअनुसार रियल मड्रिडले डिबालाका लागि चासो देखाएको छ । आफ्नो पूर्वस्टार क्रिस्टियानो रोनाल्डो युभेन्टस गएपछि सोही क्लबका खेलाडी अनुबन्ध गर्न रियलले चासो देखाइरहेको हो । यता, २४ वर्षीय डिबालाका लागि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पनि चासो देखाएको छ ।
प्रकाशित मितिः २०७५ भदौ ३० शनिबार
Comments