काठमाडौं । स्पेनले युइएई नेशन्स लिगमा इंल्याण्ड हराउँदै विजयी सुरूवात गरेको छ। रुसमा सम्पन्न विश्वकप फुटबलको सेमिफाइनलसम्म पुगेको इंल्याण्डलाई स्पेनले २–१ गोल अन्तरमा हराएको हो। युरोपियन फुटबलको नयाँ प्रतिस्पर्धा नेशन्स लिगको लिग ए अन्तर्गत आफ्नो पहिलो खेलमा शनिबार राति स्पेनले इंग्ल्याण्डलाई घरेलु मैदानमै २–१ ले हराएको हो।
स्पेनको जितमा साउल निगुएज र रोड्रिगो मोरिनोले गोल गरेका थिए। यस्तै इंल्याण्डका लागि मार्कस रासफोर्डले गोल गरेका थिए। खेलमा ११औं मिनेटमा गोल गर्दै सुरुवाति अग्रता लिएको इंल्याण्डले अग्रता जोगाउन नसक्दा हार व्यहोर्नुपर्यो। मार्कस रासफोर्डले गोल गर्दै इंग्ल्याण्डलाई सुरुवाति अग्रता दिलाए ।
तर त्यसको दुई मिनेटपछि साउल निगुएजले स्पेनका लागि बराबरी गोल फर्काए। ३२ औं मिनेटमा रोड्रिगो मोरिनोले गोल गर्दै स्पेनलाई पहिलो हाफमै २–१ को अग्रता दिलाए । दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन र स्पेन २–१ ले विजयी भयो।
नयाँ प्रतियोगिता नेशन्स लिगको लिग ए का लागि १२ देशलाई हरेक समूहमा तीन तीन देश हुने गरी चार समूहमा विभाजन गरेर खेलाइएको छ। लिग ए अन्तर्गतका देशलाई ए वान देखि ए फोर सम्मका समूहमा विभाजन गरिएको छ। होम एण्ड अवे खेल सकिएपछि समूह विजेताहरु फाइनल चरणको प्रतिश्पर्धा गर्नेछन्।
यसरी फाइलन चरणमा आएका लिग ए का देश मध्येबाट एउटा नेशन्स लिग च्याम्पियन बन्ने छ । नेशन्स लिगको लिग ए वानमा फ्रान्स, जर्मनी र नेदरल्याण्डस् छन्। यस्तै ए टुमा बेल्जियम, आइसल्याण्ड र स्वीट्जल्याण्ड समूह ए थ्रीमा इटाली, पोल्याण्ड र पोर्चुगल समूह ए फोरमा क्रोएसिया, इंग्ल्याण्ड र स्पेन छन्। नेशन्स लिग लिग ए देखि लिग डी सम्म हुनेछ । एजेन्सी
प्रकाशित मितिः २०७५ भदौ २४ आइतबार
Comments