काठमाडौं । क्रोएसियाका राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक ज्लाट्को डालिचले इटालियन युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो ज्यादै स्वार्थी र रिसाहा खेलाडी भएको बताएका छन् । क्रोएसियालाई रसिया विश्वकपको फाइनलसम्म पुर्याएका उनले रोनाल्डोमाथि यस्तो टिप्पणी गरेका हुन् ।
क्रोएसियाका स्थानीय मिडियासँग कुरा गर्दै उनले रोनाल्डोलाई घमण्डी खेलाडीसमेत भनेका छन् । ‘उनी रोनाल्डो घमण्डी खेलाडी हुन् । यदि त्यस्तो अवस्था आए उनी कहिल्यै पनि मेरो टोलीमा पर्ने छैनन्,’ उनले भनेका छन् ।
आफ्नो राष्ट्रिय टोलीका कप्तान लुका मोड्रिकले यस वर्षको युरोपियन सर्वश्रेष्ठ खेलाडीको अवार्ड जितेको समारोहमा रोनाल्डो नगएको सन्दर्भमा बोल्दै ज्लाट्ले यस्तो बताएका हुन् ।
उनले मोड्रिक यसवर्ष युरोपियन फुटबलको सर्वोत्कृष्ट अवार्डको मात्रै नभएर अन्य ठूला अवार्डको पनि दाबेदार रहेको बताए । उनले आफ्ना कप्तानको प्रशंसासमेत गरे ।
तर, आफ्ना कप्तानका पूर्वटिममेट तथा पाँचपटक बालोन डि‘ओ र पाँचैपटक फिफा वर्ष खेलाडीको अवार्ड जितिसकेका रोनाल्डोबारे भने उनले नकाारत्मक टिप्पणी गरे । ‘मेरो नजरमा रोनाल्डो एक अहंकारी र स्वार्थी खेलाडी हुन्,’ उनले थपे, ‘युरोपियन फुटबलको अवार्ड समारोहमा उनी नजानु यसको उदाहरण हो ।’
ज्लाट्को टोली क्रोएसियाले अर्को साता पोर्चुगलसँग मैत्रीपूर्ण खेल खेल्दैछ । उक्त खेलअघि उनले पोर्चुगिज टोलीका कप्तानसमेत रहेका रोनाल्डोबारे यसतो टिप्पणी गरेपछि उक्त खेलले विशेष महत्त्व राख्ने अनुमान गरिएको छ । एजेन्सी
प्रकाशित मितिः २०७५ भदौ १९ मंगलबार
Comments