काठमाडौ । साबिक बिजेता बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा सोसिडाड डिपोर्टिभा हुएस्कामाथि फराकिलो जित निकालेको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले नव प्रवेशी क्लब हुएस्कामाथि ८,२ अन्तरमा फराकिलो जित निकालेको हो।
घरेलु मैदानमा बार्सिलोनालाई जिताउन लियोनल मेसी र लुइस स्वारेजले २,२ गोल गरे। यस्तै ओसुमाने डेम्बेले, इभान राकीटिच र जोर्डी अल्बाले समान १,१ गोल गरेका थिए। बार्सिलोनाले एक गोल आत्मघाती उपहार पाएको थियो। हुएस्काका जोर्गे पुलिडोले आत्मघाती गोल गर्दा जुवान हर्नान्डेज र एलेक्स गाल्लरले १,१ गोल फर्काए।
क्याम्पनाउमा बार्सिलोनाले सुरुवाती अग्रता उल्टाएर जित निकालेको हो। खेलको तेस्रो मिनेटमै हर्नान्डेजको गोलबाट पाहुना टोलीले अग्रता बनाएको थियो। तर, खेलको १६ औं मिनेटमा मेसीले गोल गर्दै खेललाई १,१ को बराबरीमा ल्याए। खेलको २४ औं मिनेटमा जोर्गेले आत्मघाती गोल गरेपछि बार्सिलोनाले २,१ को अग्रता लियो।
३९ औं मिनेटमा लुइस् स्वारेजले गोल गर्दै बार्सिलोनालाई ३,१ को अग्रता दिलाए। ४२ औं मिनेटमा हुएस्काका एलेक्सले गोल गर्दै पहिलो हाफमा खेललाई ३,२ अवस्थामा ल्याए।
दोस्रो हाफमा बार्सिलोना थप आक्रमक बन्यो। ४८ औं मिनेटमा डेम्बेलेले गोल गर्दै खेललाई ४(२ को स्थितिमा पुर्याए। खेलको ५२ औं मिनेटमा राकीटिचले गोल गरेपछि बार्साको अग्रता५(२ पुग्यो। ६१ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ६,२ को अग्रता दिलाए ।
त्यसपछि खेलको ८१ औं मिनेटमा अल्बा र ९० औं मिनेटमा स्वारेजले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ८,२ को जित दिलाए। यो जितसँगै बार्सिलोनाले लिगमा लगातार तेस्रो जित निकाल्न सफल भएको छ। जितपछि शीर्ष स्थानमा उक्लिएको बार्सिलोनाले ३ खेलबाट ९ अंक जोडेको छ। हुएस्काको यो पहिलो हार हो। हुएस्काले ३ खेलबाट ४ अंक जोडेको छ। एजेन्सी
प्रकाशित मितिः २०७५ भदौ १८ सोमबार
Comments