काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लगातार तेस्रो जित हात पारेको छ। शनिबार राति भएको खेलमा रियलले लेगानेसलाई ४–१ ले हराउँदै सहज जित निकालेको हो।
घरेलु मैदानमा भएको खेलमा रियललाई जिताउन करिम बेन्जिमाले दुई तथा ग्यारेथ बेल र कप्तान सर्जियो रामोसले एक(एक गोल गरे। लेगानेसका गुइडो कार्रील्लोले एक गोल फर्काएका थिए।
सान्टियागो बेर्नाबेउमा भएको खेलको १७औं मिनेटमा बेलले गोल गर्दै रियललाई सुरूवाती अग्रता दिलाएका थिए। तर, खेलको २४ औं मिनेटमा लेगानेसका कार्रील्लोले पेनाल्टीमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।
पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा रियलले तीन गोल गर्यो। खेलको ४८ औं मिनेटमा बेन्जिमा गोल गर्दै रियललाई पुनः अग्रता दिलाए।
खेलको ६१ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गरेपछि रियलले अग्रता दोब्बर बनायो। त्यसपछि ६६ औं मिनेटमा पाएको पेनाल्टीमा रामोसले गोल गर्दै रियललाई ४–१ को सहज जित दिलाए। यो सँगै लगातार तेस्रो जित निकालेको रियलले ३ खेलबाट ९ अंक जोड्दै लिगको शीर्ष स्थानमा छ।
प्रकाशित मितिः २०७५ भदौ १७ आइतबार
Comments