काठमाडौं । रियल मड्रिडका पूर्वस्ट्राइकर क्रिस्टियानो रोनाल्डोको गोल ‘युइएफए गोल अफ् द सिजन’ घोषित भएको छ । गत सिजन क्वार्टरफाइनलमा युभेन्टसविरुद्ध रोनाल्डोले गरेको चर्चित ‘ओभरहेड गोल’ सिजनकै सर्वोत्कृष्ट गोल घोषित भएको हो । भोटिङका आधारमा उत्कृष्ट गोल छान्ने प्रावधान छ । जसमा उत्कृष्ट गोलका लागि कूल ३ लाख ४६ जार ९ सय १५ भोट झरेकोमा रोनाल्डोको गोलले १ लाख ९७ हजार ४ सय ९६ भोट पाएको हो ।
गएको सिजन रियल मड्रिडलाई लगातार तेस्रोपटक च्याम्पियन्स लिगको उपाधि जिताउनेक्रममा रोनाल्डोले क्वार्टफाइनलमा युभेन्टसको घरेलु मैदानमा भएको खेलमा उक्त गोल गरेका थिए । रोनाल्डोको उक्त गोलको सम्मानमा युभेन्टसका घरेलु समर्थकले उठेर ताली बजाएका थिए । रियलले ३–० ले जितेको उक्त खेलमा रोनाल्डोले २ गोल गरेका थिए । पहिलो लेग ३–० ले जिते पनि रियल दोस्रो लेगमा ३–१ ले पराजित भए पनि समग्रमा जित निकाल्दै युभेन्टसलाई पन्छाएर अन्तिम चारमा पुगेको थियो ।
गत वर्ष रियलले १३औं पटक तथा लगातार तेस्रोपटक उपाधि जित्दा रोनाल्डोले शानदार प्रदर्शन गरेका थिए । उनले लगातार ११ खेलसम्म गोल गरेका थिए भने १५ गोलसहित उनी नै सर्वाधिक गोलकर्ता पनि बनेका थिए । रोनाल्डो हालसालै रियल छाडेर युभेन्टसमा अनुबन्ध भएका हुन् । ९ वर्ष रियलमा बिताएका उनलाई रियलले १ सय १२ मिलियन युरोमा बेचेको थियो । एजेन्सी
प्रकाशित मितिः २०७५ भदौ १२ मंगलबार
Comments