बार्सिलोनाले ला लिगा फुटबल अन्तर्गत सिजनको दोस्रो खेलमा भालाडोलिडमाथि संघर्षपूर्ण जित निकालेको छ। लिग अन्तर्गत आइतबार राति अवे मैदानमा भएको खेलमा मेसीको कप्तानीमा रहेको बार्सिलोनाले रियल भालाडोलिडमाथि १–० को संघर्षपूर्ण जित निकालेको हो।
यसै सिजनबाट ला लिगा फर्किएको रियल भालाडोलिडले स्पेनिस च्याम्पियन बार्सिलोनालाई कडा चुनौती दिएको थियो। पहिलो हाफसम्म गोलरहित बराबरी भएको खेलमा ५७औं मिनेटमा उसमान डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए।
खेलको इन्जुरी समयमा भालाडोलिडले गरेको गोलले मान्यता नपाएपछि डेम्बेलेको गोल नै निर्णायक हुँदै बार्सिलोनाले संघर्षपूर्ण जित निकाल्यो।
भिडियो एसिस्टेन्ट रेफ्री, भिएआरमार्फत हेरेर रेफ्रीले भालाडोलिडको गोललाई मान्यता दिएनन्। यसै सिजनबाट लिगमा प्रयोग गर्न थालिएको भिएआर मार्फत हेर्दा इन्जुरी समयमा केकोले हेड मार्फत गरेको गोल अफसाइड देखियो।
यससअघि पनि ८०औं मिनेटमा बार्सिलोनाका लुइस स्वारेजले गरेको गोल अफसाइट भएको थियो। यो जितसँगै बार्सिलोनाले लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ। सिजनको पहिलो खेलमा एलाभेसलाई ३–० ले हराएको बार्सिलोना ६ अंकसहित लिगको लिगको शीर्ष स्थानमा छ। लिगको दोस्रो स्थानमा एकमा जित र एक बराबर गरेको रियल मड्रिड छ।
प्रकाशित मितिः २०७५ भदौ १० आइतबार
Comments