काठमाडौं । मलेसियामा हुने एसीसी एसिया कप छनोटको तयारीका लागि श्रीलंकामा रहेको नेपाली क्रिकेट टिमले लगातार दोस्रो जित निकालेको छ। शुक्रबार भएको दोस्रो अभ्यास खेलमा नेपालले श्रीलंकाको ब्लुमफिल्ड क्लबलाई डकवर्थ लुविस पद्दतिको आधारमा १ सय ७६ रनले हराउँदै दोस्रो जित निकालेको हो।
नेपालले दिएको ३२४ रनको बिशाल लक्ष्य पछ्याएको घरेलु टोली ब्लुमफिल्ड क्लबले जवाफी ब्याटिङ गरिरहँदा खराब प्रकाशको कारण खेल रोकिएको थियो। खेल रोकिनुअघि ब्लुमफिल्डले ३८ ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन मात्र बनाएको थियो।
उसका लागि सनोज धर्शैकाले ३८, सचीन जयवर्द्धनेले ३० तथा कुसन एकनायके र सेशन फर्नान्डोले समान १६र१६ रन जोडे । नेपालका सागर पुनले ३ विकेट लिए। त्यस्तै ललितस भण्डारीले २ तथा बसन्त रेग्मी, ललित राजवंशी र कप्तान पारस खड्काले समान १र१ विकेट लिएका थिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय २३ रन बनाएको थियो।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले शतकीय पारी खेले। उनले ९६ बलमा १ सय २१ रन बनाएका थिए। यस्तै सागर पुनले ९२ रनको योगदान दिए भने कप्तान पारस खड्काले २३, करण केसीले २६ र अनिल कुमार शाहले १७ रनको योगदान दिए। ब्लुमफिल्डका लाहिरू सन्जयले २ विकेट लिए। अब अन्तिम अभ्यास खेल आइतबार कोल्ट्ससँग खेल्नेछ।
प्रकाशित मितिः २०७५ भदौ ९ शनिवार
Comments