काठमाडौं । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले प्यालेस्टाइनी फुटबल एसोसिएसनका अध्यक्षमाथि एक वर्षको प्रतिबन्ध लगाएको छ।
अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसीको जर्सी तथा तस्बिर जलाउन समर्थकलाई सुझाव दिएका प्यालेस्टाइनी फुटबल एसोसिएसनका अध्यक्ष जिब्रिल रजौबलाई एक बर्षको प्रतिबन्ध लगाएको हो।
रूस विश्वकपअघि तय भएको इजरायल र अर्जेन्टिनाबीचको मैत्रीपूर्ण खेल रोक्न घृणित र हिंसात्मक कार्य गरेको बन्दै फिफाले अध्यक्ष रजौबमाथि एक वर्ष प्रतिबन्ध र २० हजार स्विस फ्रान्क जरीवाना लगाएको छ।
प्रतिबन्ध लागेका जिब्रिलले अबको १२ महिना कुनै पनि हैसियतमा फुटबल खेलमा सहभागिता जनाउन पाउने छैनन् । प्यालेस्टाइन समर्थकहरुबाट हिंसात्मक कार्य र धम्की आएपछि जेरुसेलममा तय भएको मैत्रीपूर्ण खेल रद्द भएको थियो।
उक्त खेल टेडी कोलेक रंगशालामा खेलाउने निर्णय भएको थियो। तर, प्यालेस्टाइनले भने इजरायलले मैत्रीपूर्ण खेल जेरुसेलममै खेलाएर राजनीतिक सन्देश दिन खोजिरहेको भन्दै विरोध जनाएका थिए ।
इजरायल र अर्जेन्टिनाको मैत्रीपूर्ण खेल जेरुसेलममा तोकिएपछि प्यालेस्टाइन फुटबलका अध्यक्ष रजौबले पनि मैत्रीपूर्ण खेल रोक्न फिफालाई आग्रह गरेका थिए। यस्तै अध्यक्ष रजौबले मैत्रीपूर्ण खेलको बिरोध गर्न अरब तथा मुस्लिम देशका प्रशसंकलाई मेसीको जर्सी र तस्बिरहरु जलाउन अपील गरेका थिए । एजेन्सी
प्रकाशित मितिः २०७५ भदौ ९ शनिवार
Comments