काठमाडौं । आगामी महिना ग्वाटेमाला र कोलम्बिया विरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि लिओनल मेसी अर्जेन्टिनाको टोलीमा परेका छैनन् । अर्जेन्टिनाका अन्तरिम प्रशिक्षक लियोनल स्कलोनीले मेसीले राष्ट्रिय टोलीका लागि अब खेल्ने वा नखेल्ने बारे जानकारी नरहेको बताएका छन् ।
बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्दै आएका मेसीले सन् २०१६ मा कोपा अमेरिकाको फाइनलमा चिलीविरुद्धको हारपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्याससमेत लिएका थिए । तर, चौतर्फी दबाबपछि उनी आफ्नो निर्णय उल्ट्याउँदै अर्जेन्टिनाको जर्सीमा फर्किएका थिए ।
हालै रूसमा सम्पन्न विश्वकपमा टोलीको खराब प्रदर्शनपछि मुख्य प्रशिक्षक जोर्गे साम्पाओलीलाईसमेत निस्कासन अर्जेन्टिनाले मेसीका विषयमा केही भनेको थिएन ।प्रशिक्षक स्कलोनीले टोली छनोट गर्नुअघि आफूले मेसीसँग कुरा गरेको र उनी अर्जेन्टिनाबाट खेल्ने वा नखेल्नेमा निश्चित नरहेको बताएका छन् ।
अर्जेन्टिनाको टोलीमा मेसीसँगै अग्यूरो, ओटामेन्डि, हिगुआइनजस्ता अरू खेलाडी समेत अटाएका छैनन्। उनीहरूको स्थानमा इकार्डी, लौटारो मार्टिनेज, जिओभानी सिमिओनीजस्ता युवा खेलाडीलाई मौका दिइएको छ ।
प्रकाशित मितिः २०७५ भदौ ७ बिहिबार
Comments