काठमाडौंः एसिया कप छनोटको तयारीका लागि श्रीलंका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेल जितेको छ ।बुधबार श्रीलंका आर्मी स्पोर्ट्स क्लबलाई ६७ रनले हराउँदै अभ्यास खेलमा विजयी भएको हो ।
पानागोडामा नेपालले दिएको १९५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको घरेलु टोली आर्मीले ३६ ओभर १ बलमा अलआउट हुँदै १२७ रन मात्र बनाउन सक्यो । आर्मी स्पोर्टस्का जगथ राजापाक्साले ४६ रन बनाए । लाहिरी चामाराले २६ तथा प्रदीप राथानायाकाले १८ रन जोड्बाहेक अन्य ब्याट्सम्यानले नेपालको कसिलो बलिङमा दोहोरो रन बटुल्न सकेनन् ।
नेपालका सोमपाल कामी र बसन्त रेग्मीले समान ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले २ तथा ललित नारायण राजवंशी र ललित भण्डारीले समान एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभर ४ बलमा अलआउट हुँदै १९४ रन बनाएको थियो ।
नेपालका लागि आरिफ शेखले ८९ रन बनाए । यस्तै नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले २१ तथा बसन्त रेग्मी र विनोद भण्डारी समान १६ १६ रन जोडे । रोहित कुमार पौडेल १२ रन आउट भए । श्रीलंका आर्मीका मधुसन फर्नान्डोले ३ तथा सन्जिउ कुमारास्वामी र जगत राजपाक्षेले समान २ २ विकेट लिए ।
मलेसियामा अगष्ट अन्तिम साताबाट आयोजना हुने एसिया कप अघि एक साताको प्रशिक्षण गर्न नेपाली टोली श्रीलंका पुगेको हो । अब नेपालले शुक्रबार ब्लुमफिल्ड क्लबसंग उसैको मैदानमा दोस्रो अभ्यास खेल खेल्नेछन् । यस्तै नेपालले अन्तिम अभ्यास खेलमा कोल्ट्ससंग उसैको मैदानमा आइतबार खेल्ने छ । तीन अभ्यास र प्रशिक्षणपछि नेपाली टोली अगष्ट २७ मा श्रीलंकाबाटै मलेसिया प्रस्थान गर्ने छन् ।
प्रकाशित मितिः २०७५ भदौ ७ बिहिबार
Comments