भक्तपुर । नेपाली युवा बलर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिगमा बुधबार पनि उत्कृष्ट बलिङ गर्दै दुई विकेट लिन सफल भएका छन् । कायरन पोलार्डको कप्तानीमा रहेको सेन्ट लुसिया स्टार्सविरुद्धको खेलमा सन्दीपले २ ओभरमा २ विकेट लिएका हुन् । उनले जारी चार खेलमा सात विकेट लिइसकेका छन् ।
यसअघि उनले एमाजोनाविरुद्ध दुई, टी एण्ड टी राइटर्सविरुद्ध एक र तालावाजविरुद्ध दुई विकेट लिएका थिए । सन्दीपको टोली सेन्ट किट्स एन्ड नेभीस प्याट्रियट्सले सेन्ट लुसिया स्टारर्सलाई ७ विकेटले पराजित गर्यो ।
सेन्ट लुसिया स्टारले दिएको ७० रनको सामान्य लक्ष्य सेन्ट किट्सले ८ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । सेन्ट किट्सका लागि डिभोन थोमसले नटआउट ३८ रन जोड्दा ब्रान्डन किङले १७ रन बनाए । इभिन लेभिस १३ रनमा आउट भएका थिए । सेन्ट लुसियाका मिचेल म्याचिङघलम र केभिज हजले समान १ विकेट लिए ।
यसअघि डारेन सामी नेसनल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सेन्ट लुसिया १२।३ ओभरमा ६९ रनमा समेटियो । उसका लागि अहमेद क्वेजले सर्वाधिक २४ रन बनाए । डेभिड वार्नरले १४ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
सेन्ट लुसियालाई कम रनमा समेट्न सेल्डन कट्रेलले ३ विकेट लिए । सन्दीप लामिछाने र मामदुल्लाहले समान २र२ विकेट लिए । कार्लोस ब्रेथवेट र वेन कटिङले समान १ विकेट लिएका थिए । यो जितसँगै सीपीएल क्रिकेटमा सन्दीपको टिम प्याट्रियट्स ४ खेलबाट ४ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ ।
प्रकाशित मितिः २०७५ भदौ ६ बुधबार
Comments