काठमाडौं । राष्ट्रिय नेपाली क्रिकेट टोली अभ्यास खेलका लागि श्रीलंकातर्फ प्रस्थान गरेको छ । आगामी भदौ १३ देखि २१ सम्म मलेसियामा हुने एसिसी एसिया कप छनौट क्रिकेट प्रतियोगिताको तयारीनिम्ति नेपाली टोली सोमबार श्रीलंकातर्फ लागेको हो ।
नेपाली टोलीले श्रीलंकामा १० दिन बिताउने छ । त्यसक्रममा उसले त्यहाँ तीन मैत्रीपूर्ण खेल खेल्दैछ । नेपाली टोलीको सभामुख कृष्णबहादुर महराले आफ्नो सरकारी निवासबाट फूलमाला लगाएर बिदाइ गरे । नेपाली टोलीलाई जितका लागि शुभकामनासमेत दिए ।
बिदाइक्रममा नेपाली टोलीका कप्तान पारस खड्काले यो प्रतियोगिता आफ्नो टिमका लागि उच्च महत्त्वको रहेको उल्लेख गर्दै ज्यादै ध्यान ििदएर खेल्ने बताए । श्रीलंका लागेको नेपाली टिममा १४ खेलाडी सहित २० जना छन् । हाल सिपिएल खेलिरहेका सन्दीप लामिछाने उतैबाट भदौ १२ गते मलेसिया आइपुग्नेछन् ।
श्रीलंकामा रहँदा नेपाली टोलीले स्थानीय क्लबसँग तीन अभ्यास खेल खेल्नेछ । जसअनुसार उसले अगस्ट २२ मा आर्मी क्रिकेट टिम, २४ मा ब्लुमफिल्ड र २६ मा कोल्ट क्रिकेट टिमसँग खेल्नेछ ।
मैत्रीपूर्ण खेलपछि नेपाली टोली उतैबाट मलेसिया प्रस्थान गर्नेछ । एसिया कपमा नेपालले पहिलो खेल अगस्ट २९ मा ओमानसँग खेल्दैछ । छनोट चरणमा नेपालले आयोजक मलेसियासहित हङकङ, ओमान, सिंगापुर र युएईसँग खेल्नेछ ।
प्रकाशित मितिः २०७५ भदौ ४ सोमबार
Comments