भक्तपुर । इन्डोनेसियामा जारी १८ औं एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । बिहिबार भियतनामसँग २–० ले पराजित भएसँगै नेपाल समूह चरणमा लगातार दोस्रो हार बेहारेको हो । नेपाल यसअघि आफ्नो पहिला खेलमा जापानसँग १–० ले पराजित भएको थियो ।
इन्डोनेसियाको विभाहा मुक्ति स्टेडियममा बिहिबार भएको खेलको ३४ औं मिनेटमा भियतनामका गुयन डकले गोल गरी अग्रता बनाएको थियो । त्यस्तै ६४ औं मिनेटमा फान भान डकले गोल गर्दै भियतनामको अग्रता दोब्बर गर्दै जित सुनिश्चित गरे ।
नेपालमाथिको जितसँगै भियतनाम एक खेल अगावै एसियाड फुटबलको प्रि–क्वार्टरफाइनलमा पुग्न सफल भएको छ । भियतनामले आफ्नो पहिलो खेलमा पाकिस्तानमाथि ३–० को सहज जित निकालेको थियो । बिहिबारै जापानले पाकिस्तानलाई ४–० ले पराजित गर्दै प्रि–क्वार्टर फाइनलमा पुग्न सफल भएको छ । जापानको जितमा इवासाकी युटोले दुई तथा हाटाटी रिउ र माइडा डाइजेनले गोल गरे ।
अब समूह चरणको अन्तिम खेलमा जापान र भियतनाम तथा नेपाल र पाकिस्तानबीच खेल हुनेछ । जापान र भियतनामबीचको विजेता समूह विजेताको रुपमा अघि बढ्नेछ । समूह चरणको अन्तिम खेलमा पाकिस्तानलाई हराउन सके नेपालको अघिल्लो चरण पुग्ने सम्भावना रहन्छ । समूहको तेस्रो टोली बन्न सके त्यसपछि अघिल्लो चरणको सम्भावना रहन्छ । ६ समूहबाट ४ वटा उत्कृष्ट तेस्रो टोली अन्तिम १६ मा प्रवेश गर्नेछ ।
प्रकाशित मितिः २०७५ भदौ १ सुक्रबार
Comments