भक्तपुर ३१ साउन । भुटानमा जारी दोस्रो संस्करणको साफ यू–१५ महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आज बिहिबार भारतको सामना गर्दैछ । साफ च्याम्पियनसिप जित्ने लक्ष्यसहित भुटान पुगेको नेपालले सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी भारतसंग खेल्न लागेको हो ।
थिम्पुस्थित चाङलिमिथाङ मैदानमा नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३ः४५ मा सुरु हुनेछ । नेपाल र भारत मैदान प्रवेश गर्दा दुवै टोली जित निकाल्ने लक्ष्यमा हुनेछ । भारत समूह ए को विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाउँदा नेपाल समूह बी को उपविजेताको रुपमा अघि बढेको हो ।
आजै दोस्रो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन बंगलादेशले आयोजक भुटानसँग भिड्दै छ । खेल चाम्लिङथाङ रंगशालामा साँझ ६ः४५ बजेपछि शुरु हुनेछ । बंगलादेश समूह बी को विजेता तथा भुटान समूह ए का उपविजेता हो ।
Comments