भक्तपुर २९ साउन । पाकिस्तानमा प्रधानमन्त्री बन्न लागेका पूर्वक्रिकेटर इमरान खानको शपथ ग्रहण समारोहमा भारतीय पूर्वकप्तान कपिल देव नजाने भएका छन्। कपिलदेवले आफ्नो निजी कारण देखाउँदै पाकिस्तान जान नपाउने बताएका हुन्।
इमरान खानले अगष्ट १८ मा प्रधानमन्त्रीको सपथ लिँदैछन्। कपिल देवले एक भारतीय समाचार संस्थालाई भनेका छन्,‘ शपथ ग्रहणमा नजाने मेरो निजी निर्णय हो। म माथि कुनै राजनीतिक पार्टीको कुनै किसिमको दबाब छैन,’ उनले भने, ‘इमरान खान पाकिस्तानको प्रधानमन्त्री बन्दै छन्। उनले आफ्नो सपथ ग्रहण समारोहमा मलाई निम्ता पठाएका छन्। उनलाई धेरै धेरै बधाई र धन्यवाद।’
कपिल देवसहित भारतीय पूर्व क्रिकेटर नवजोत सिंह सिद्धु र सुनील गावस्करलाई समेत शपथ ग्रहणमा आमन्त्रण गरिएको थियो। यसैबीच नवजोत सिंह सिद्धुले आफू खानको सपथ ग्रहण कार्यक्रममा जाने स्पष्ट पारिसकेका छन्।
सिद्धुले शपथ ग्रहणमा जानुको पछाडि आफू एक खेलाडी भएको भन्दै अरू कुनै कारण नभको बताएका छन्। इमरानको पार्टी पाकिस्तान तहरीक(ए(इन्साफ पीटीआई हालै भएको चुनावबाट सबैभन्दा ठूलो पार्टी बनेको छ । एजेन्सी
Comments