भक्तपुर २८ साउन । ब्राजिलियन विश्वकप विजेता रोनाल्डो क्यास मिसेस अस्पताल भर्ना भएका छन् । उनी निमोनियाबाट प्रभावित भए पछि अस्पताल भर्ना भएका हुन् । ४१ बर्षीय पूर्व स्टार रोनाल्डोले शुक्रबारबाट सन्चो नभएको भन्दै ट्विट गरेका थिए । उनले सोमबार सम्म सन्चो हुने आशा रहेको बताएका थिए ।
उता अस्पतालका प्रवक्ताले गोपनियताका कारण कुनै जानकारी दिन असमर्थ भएको बताएका छन् । सन् २००२ को विश्वकप उपाधि जित्दा रोनाल्डो चम्केका थिए । उनले टोलीका लागि ६२ गोल गरेका थिए । रियल मड्रिडका पूर्व स्टार रोनाल्डोले बार्सिलोना, इन्टरमिलान र एसी मिलानबाट पनि खेलेका थिए ।
उनले ट्वीट मार्फत आफ्ना समर्थकले देखाएको माया प्रति आभार व्यक्त गरेका छन् । स्ट्राइकर रोनाल्डोले सात वर्षअघि नै खेलबाट सन्यास लिएका थिए । उनले ब्राजिलियन क्लब कोरियन्थएन्समा खेल्दै खेल जीवनबाट विश्राम लिएका थिए ।
रोनाल्डोले दुई पटक ला लिगा रियलबाट र युइएफए कप इन्टरबाट उपाधि जितेका थिए । ब्राजिलले १९९४ मा विश्वकप जित्दा उनी टिमका सदस्य थिए । तर, उनले खेल्ने मौका पाएनन् । उनले १९९८ मा ब्राजिल फाइनल पुग्दा महत्वपुर्ण भुमिका खेलेका थिए । उनी १९९८ र २००२ को विश्वकपमा सर्वश्रेष्ठ खेलाडी घोषित भएका थिए । एजेन्सी
Comments