भक्तपुर २७ साउन । चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा विजयी सुरुवात गरेको छ । शनिबार बेलुका भएको खेलमा हडर्सफिल्ड टाउनलाई ३–० ले हराएर चेल्सीले जितबाट नयाँ सिजनको सुरुवात गरेको हो । चेल्सीको जितमा एङ्गोलो कान्टे, जर्जिन्हो र पेड्रो रोड्रिग्वेजले गोलग गरे ।
हडर्सफिल्डको घरेलु मैदानमा भएको खेलमा चेल्सीले ३५ औं मिनेटमा कान्टेको गोलबाट अग्रता बनाएको थियो । पहिलो हाफको इन्जुरी समयमा यसै सिजन चेल्सीमा आएका जर्जिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई २–० को अग्रता दिलाएका थिए । ८० औं मिनेटमा इडेन हाजार्डको पासमा पेड्रो रोड्रिग्वेजले गोल गर्दै चेल्सीलाई ३–० को सहज जित दिलाए ।
जितसंगै चेल्सीले महत्वपूर्ण ३ अंक जोडेको छ । प्रिमियर लिग अन्तर्गत नै वाट्फोर्डले ब्राइटनलाई २–० ले हराएको छ । यस्तै, फुलहम क्रिष्टल प्यालेससंग २–० र कार्डिफ सिटी बोर्नेमाउथसँग २–० ले पराजित भएको छ । एजेनसी
Comments