भक्तपुर २६ साउन । मलेसियन प्रिमियर लिग एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा सागर पुनले सतक प्रहार गरेका छन्। मलेसियामा जारि मलेसियन प्रिमियर लिग एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार क्वालालाम्पुर र सेलाङ्गोरबीच भएको पहिलो सेमिफाइनलमा सागरले क्वालालाम्पुरका लागि सतकीय पारी खेलेका हुन्।
उनले ११८ बल खेल्दै ९ चौकाको सहयोगमा १०० रन बनाएका छन्। उनको सतकीय योगदानले क्वालालाम्पुरले निर्धारित ५० ओभरमा ३०५ रनको योगफल तयार पारेको थियो। क्वालालम्पुरको टोलीबाटै खेलेका अर्का नेपाली विकेट किपर ब्याट्सम्यान आशिफ शेखले नटआउट २० रन बनाए। ११ बल खेलेका शेखले ३ चौकासहित २० रन बनाएका हुन्।
आजको खेलसँगै सागरको टिमले सेलाङ्गोरलाई १२२ रनले हराउँदै फाइनलमा प्रवेश गरेको छ। क्लालालाम्पुरले दिएको ३०६ रनको लक्ष्य पछ्याएको सेलाङ्गोरले पुरै ५० ओभर खेले पनि ७ विकेट गुमाउँदै १८३ रन मात्र बनाउन सक्यो। ४ ओभर बलिङ गरेका सागरले १ मेडनसहित १० रन खर्चिए। आजको खेलसँगै ९ खेलबाट सागरले २ सतक र १ अर्धसतकसहित ४४२ रन बनाएर सर्वाधिक रन बनाउने खेलाडीका रूपमा अगाडि छन्।
Comments