भक्तपुर २३ साउन । प्रि–सिजन अघिको मैत्रीपूर्ण खेलमा इंग्लिस क्लब लिभरपुलले इटालियन क्लब टोरीनोलाई पराजित गरेको छ ।मंगलबार राति भएको खेलमा लिभरपुलले टोरीनोलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । एनफिल्डमा भएको खेलमा लिभरपुलका लागि रोबर्टो फिर्मिन्हो, जर्जिनियो विज्नाल्डम र ड्यानियल स्टुरेजले एक एक गोल गरे । टोरीनोका लागि आन्द्रे बेलोट्टीले एक गोल गरे ।
२१ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको तीन मिनेट नबित्दै विज्नाल्डमले गोल गर्दै लिभरपुललाई २ – ० को अग्रता दिलाए । खेलको ३१ औं मिनेटमा टोरीनोका बेलोट्टीले एक गोल गरे ।त्यस्तै खेलको ८७ औं मिनेटमा स्टुरेजले गोल गर्दै लिभरपुललाई ३–१ को सहज जित दिलाए । यो जितसंगै लिभरपुलले प्रि सिजनको सुखद अन्त्य गरेको छ । इंग्लिस प्रिमियर लिग अगष्ट ११ बाट सुरु हुँदैछ । एजेन्सी
Comments