काठमाडौं २२ साउन । एसियाड फुटबल र साफ च्याम्पियनसिपको तयारीमा थाइल्यान्ड रहेको नेपाली युवा फुटबल टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ । १० दिने विशेष प्रशिक्षणमा रहेको नेपालले थाइल्यान्डको पुलिस टेरो क्लबसँग नेपाली समय अनुसार साँझ ५ बजे बोनयाचिन्दा स्टेडियममा खेल्दै छ ।
अभ्यास खेल र प्रशिक्षणको लागि नेपाली टोली शुक्रबार नै थाइल्याण्ड पुगिसकेको छ । साफ र एसियन गेम्सको लागि नेपालले २९ खेलाडीलाई अभ्यासमा पठाएको हो । नेपालले दोस्रो अभ्यास खेलमा शुक्रबार थाइल्याण्डको यू–२३ टोलीसंग थाम्मासत युनिभर्सिटी मैदानमा खेल्नेछन् । थाइल्याण्डको प्रशिक्षणपछि नेपाली टोली त्यहीबाट इन्डोनेसियामा जानेछन् ।
एसियन गेम्स अगष्ट १४ देखि सेप्टेम्बर १ सम्म हुनेछ । एसियन गेम्समा नेपाल समूह डीमा रहेको छ । नेपालले जापान, भियतनाम र पाकिस्तानसँग खेल्नेछन् । यस्तै नेपालले आगामी सेप्टेम्बरमा बंगलादेशमा हुने साफ च्याम्पियनसिप खेल्नेछ । साफमा नेपालले समूह चरणमा आयोजक बङ्गलादेश, पाकिस्तान र भुटानसँग खेल्ने छन् ।
Comments