भक्तपुर २० साउन । मैत्रीपूर्ण खेलमा इटालियन क्लब नेपोलीमाथि इंग्लिस क्लब लिभरपुलले फराकिलो जित हात पारेको छ । शनिबार राति भएको मैत्रीपूर्ण खेलमा लिभरपुलले नेपोलीलाई ५ – ० गोल अन्तरले हराएको हो ।
डुब्लीनमा भएको खेलमा लिभरपुलका लागि जेम्स मिल्नर, जर्जिनियो विज्नाल्डम, मोहमद सलाह, ड्यानियल स्टुरेज र अल्बर्टो मोरेनोले समान एक एक गोल गरे । पहिलो हाफको चौथो मिनेटमा मिल्नरले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए । खेलको नवौं मिनेटमा विज्नाल्डमले गोल गरेपछि लिभरपुल पहिलो हाफमा २ – ० ले अघि रह्यो ।
खेलको ५८ औं मिनेटमा सलाहले गोल गरेपछि लिभरपुलको अग्रता ३–० को पुग्यो । त्यसपछि खेलको ७३ औं मिनेटमा स्टुरेजले गोल गर्दै लिभरपुललाई ४–० को अग्रता दिलाए । त्यसपछि खेलको ७७ औं मिनेटमा मोरेनोले गोल गर्दै लिभरपुललाई ५ – ० को फराकिलो जित दिलाए । इन्ग्लिश प्रिमियर लिगको लागि प्रि सिजनको तयारी गरिरहेको लिभरपुलले इटालियन क्लबसंग मैत्रीपूर्ण खेल खेलेका हुन् । एजेन्सी
Comments