भक्तपुर १९ साउन । इंग्लिस क्लब लेष्टर सिटीबाट व्यवसायिक फुटबल खेल्दै आएका नाइजेरियन फरवार्ड अहमेद मुसा साउदी अरेबियाको क्लबमा अनुबन्धित भएका छन्।
मुसाले साउदीको अल नासार एफसीसँग चार वर्षका लागि सम्झौता गरेका छन्। हालै सम्पन्न रूस विश्वकप आइसल्याण्डबिरूद्ध २ गोल गरेपछि थप चर्चामा आएका उनी साउदी क्लब गएका हुन्। यद्यपी उनको अनुबन्ध रकमबारे केही खुलाईएको छैन।
सन् २०१६ मा रसियन क्लब सिएसके मस्कोबाट १६ मिलियन पाउण्डमा लेष्टर आएका मुसाले गत सिजन रुसी क्लब मस्कोबाट लोनमा खेलेका थिए। मुसाले मस्कोबाट १० खेलमा ६ गोल गरेका थिए। यस्तै लेष्टरमा २१ खेल खेलेका मुसाले २ गोल गरिसकेका छन्।
२५ वर्षीय मुसाले सन् २०१० मा नाइजेरियाको राष्ट्रिय टिमबाट डेब्यू गरेका थिए। उनले नाइजेरियाका लागि १५ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन्। एजेन्सी
Comments