काठमाडौं १८ साउन । घरेलु टोली नेदरल्याण्डविरुद्धको एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्दै छ ।दुई खेलको एकदिवसीय सिरिज खेल्न नेदरल्याण्ड पुगेको नेपालले आज दोस्रो एकदिवसीय खेल खेल्न लागेको हो ।
नेदरल्याण्ड र नेपालबीचको खेल नेपाली समयअनुसार दिउसो पौने ३ बजे भिआरए मैदानमा सुरु हुनेछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसी बाट एकदिवसीय राष्ट्रको मान्यता पाएपछि नेपाल डेब्यु खेल खेल्न नेदरल्याण्ड पुगेको हो । बुधबार भएको पहिलो तथा ऐतिहासिक खेलमा नेपाल नेदरल्याण्डसंग ५५ रनले हारेको थियो ।
पहिलो खेलमा हात पारेको खराब नतिजा बिर्सिएर नेपाल पहिलो जित हात पर्ने लक्ष्यमा छ । नेदरल्याण्डविरुद्ध दोस्रो खेलमा जित निकाल्न नेपाललाई कम्तिमा ब्याटिङ सुधारको आवश्यकता रहेको छ । ब्याटिङ कमजोर हुँदा नेपालले जित्नुपर्ने डेब्यु खेल गुमाएको थियो ।
पहिलो अन्तराष्टिय शृंखलामा जित निकालेर आईसीसीको बरियताको औपचारिक ढोका खेल्ने बाटो नेपाललाई पनि हुनेछ । गत फेब्रुअरीमा जिम्बावेमा भएको विश्वकप छनोटबाट नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको थियो ।
छनोटमा एसोसिएटतर्फ उत्कृष्ट तीन टोलीमा रहेर नेपालले ऐतिहासिक सफलता पाएको थियो । चार बर्षको लागि नेपालले पाएको मान्यता यहीँ जुलाईबाट लागु भएको हो । नेपालले एसोसियट राष्ट्रको मान्यता पाएको २२ बर्षपछि एकदिवसीय राष्ट्रको मान्यता पाएको हो । सन् १९९६ मा एसोसियट राष्ट्रको मान्यता पाएको नेपाल सन् १९८८ मा आईसीसीको सदस्य बनेको थियो ।
Comments