काठमाडौं१५ साउन । इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजीले स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई पराजित गरेको छ । सिंगापुरमा सोमबार बेलुका भएको खेलमा पीएसजीले एथ्लेटिकोलाई ३–२ गोलअन्तरले पराजित गरेको हो ।
पिएसजीको जितमा क्रिष्टोफर कुनकु, मौसा डियबी र भिजिर्लिउ पोष्टालाचीले समान १–१ गोल गरे । एथ्लेटिको मड्रिडका भिक्टोर मोल्लेजोले एक गोल गरेका थिए । त्यस्तै, एक गोल भने आत्मघाती उपहार पाएको थियो । पिएसजीका एन्टोनी बेर्नेडेले आत्मघाती गोल गरेका थिए ।
पहिलो हाफको ३२ औं मिनेटमा कुनकुले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाए । खेलको ७१ औं मिनेटमा डियाबीले गोल गर्दै पिएसजीलाई २–० को अग्रता दिलाए । तर, खेलको ७५ औं मिनेटमा एट्लेटिकोका मोल्लेजोले गोल गर्दै खेल २–१ मा ल्याए । खेलको ८६ औं मिनेटमा पिएसजीका बेर्नेडेले आत्मघाती गोल गरेपछि खेल २–२ को बराबरीमा पुग्यो ।
खेलको इन्जुरी समयमा गोल गर्दै पोष्टालाचीले पिएसजीलाई ३–२ को संघर्षपूर्ण जित दिलाए । युरोपियन क्लब फुटबलको नयाँ सिजन सुरुअघि प्रि सिजनको तयारी गर्न पिएसजी र एट्लेटिको सिंगापुरमा रहेका छन् ।
Comments