ललितपुर १५ साउन । उपराष्ट्रपति कप राष्ट्रिय महिला फुटबल लिगको उपाधिका लागि आज दुई विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । खेल ललितपुरको एन्फा टेक्निकल सेन्टरमा दिउँसो साढे ३ बजे सुरु हुनेछ ।
५ टिमको सहभागिता रहेको प्रतियोगितामा दुवै टोलीको समान ९ अंक रहेको छ । प्रतियोगितामा दुवै टोली अपराजित छन् । खेल लिग चरणमा भएको हो । लिग चरणको अन्तिम खेल जित्ने टोलीले उपाधिमाथि कब्जा गर्नेछ । आजै हुने लिग चरणको अन्तिम खेलमा पुलिस र काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ । तालिकामा अंक विहिन दुवै टोली प्रतियोगितामा पहिलो जितको खोजिमा छन् ।
उपाधि विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख तथा तेस्रो हुने टिमले रु ५० हजार पुरस्कार प्राप्त गर्नेछ । लिगको सर्वोत्कृष्ट खेलाडीलाई रु २५ हजार तथा उत्कृष्ट विधाका खेलाडी र प्रशिक्षकलाई जनही रु १० हजार पुरस्कार प्रदान गरिनेछ । साउन ६ गतेदेखि सुरु भएको प्रतियोगितामा एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, काठमाडौं फुटबल संघ र रौतहट फुटबल संघको टिमको सहभागिता छ ।
Comments