काठमाडौं ११ साउन । बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अन्तिम अभ्यास खेलमा इष्ट लन्डन शार्कलाई १३४ रनले हराएको छ।
पहिले ब्याटिङ गरेको नेपालले कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट प्रदर्शनले शार्कलाई निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २५२ रनको लक्ष्य दिएको थियो। नेपालको बिशाल लक्ष्य पछ्याएको शार्कले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११७ रन मात्र बनाउन सक्यो।
शार्कलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दिप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ३ ओभर बलिङमा २ रन खर्चिएर १ मेडनसहित तीन विकेट लिए। ललित राजबंशीले २ तथा शरद भेसवाकर, दीपेन्द्र सिह ऐरी र करण केसीले समान १(१ विकेट लिए। शार्कका लागि ताक्वी अब्बासले सर्वाधिक ३२ रन जोडेका थिए।
यसअघि नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ७५ रनको पारी खेले। यस्तै कप्तान पारस खड्का र दीपेन्द्र सिंह ऐरीले समान ६७ रन बनाए। मल्लले ४७ बल खेलेर ६ छक्का र ५ चौका प्रहार गरे भने खड्काले ३० बलमा ५ छक्का प्रहार गरे। यस्तै बिस्फोटक ब्याटिङ गरेका ऐरीले २६ बलमा ६ छक्का र ४ चौकासहित ६७ रनमा नटआउट रहे।
ओपनिङ ब्याट्समेन अनिल कुमार साह ८ रनमा आउट भएपछि खड्का र मल्लले उत्कृष्ट साझेदारी गर्दै टिमलाई सम्मानजनक योगफल बनाउन सहयोग गरेका हुन्। आरिफ शेख २ रनमा आउट भए भने रोहितकुमार पौडेल १२ रनमा नटआउट रहे।
Comments