कामाडौं ८ साउन । क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड छोडेपछि उनले लगाउँदै आएको ७ नम्बर जर्सी आगामी सिजनदेखि कसले लगाउँछ भन्ने विषयमा अहिले बहस सुरू भएको छ। १० करोड युरोमा इटालीको युभेन्ट्स क्लब गएपछि रोलान्डोले लगाउँदै आएको ७ नम्बरको जर्सी कसले लगाउने भन्ने विषयमा बहस सुरू भएको हो।
रोनाल्डोले युभेन्टसमा पनि आफ्नो ७ नम्बरकै जर्सी लगाएर मैदान उत्रिने भएका छन्। तर, म्याड्रिडमा रिक्त ७ नम्बर जर्सी कसले पाउँछ भन्ने विषय सबैका लागि कौतुहल बनेको छ। स्पेनी पत्रिकाका अनुसार आगामी सिजन ७ नम्बर जर्सी कसले लगाउने भन्ने विषयको निर्णय कप्तान सर्जियो रामोसलाई छोडेको बताएका छन्।
यसैबीच क्रोएसियाका मिडफिल्डर कप्तान लुका मोड्रिचलाई क्रिस्टियानो रोनाल्डोको ७ नम्बर जर्सी दिन समर्थकले रियल म्याड्रिड क्लबको व्यवस्थापकलाई दबाब दिन थालेका छन्। मोड्रिचको उत्कृष्ट प्रदर्शनमा क्रोएसिया दुई साताअघि रुसमा सम्पन्न विश्वकपको फाइनल पुगेको थियो। मोड्रिच विश्वकपको उत्कृष्ट खेलाडी पनि घोषित भएका थिए।
रोनाल्डोको वर्हिगमनपछि उनका धेरै ‘फ्यान’ युभेन्ट्स क्लबतर्फ मोडिएका छन्। तर, म्याड्रिडलाई माया गर्ने ‘फ्यान’ रोनाल्डोको अनुपस्थितिमा मोड्रिचतर्फ मोडिएको स्थानीय स्पेनिस पत्रिका ‘एएस’ ले जनाएको छ। पत्रिकाका अनुसार हालको केही दिनयता मोड्रिचको टिसर्टको मागसमेत बढेको छ। म्याड्रिडका थुप्रै ‘फ्यान’ ले मोड्रिचको जर्सी लाउन थालेका छन्। मोड्रिच सन् २०१२ देखि म्याड्रिडमा आवद्ध हुँदै १६ नम्बरको जर्सी लगाउने गरेका छन्। तर उनले क्रोएसियाबाट खेल्दा भने १० नम्बरको जर्सी लगाउने गरेका छन्।
यस्तै रियल म्याड्रिडको ७ नम्बर जर्सी मार्को असेन्सियोले पाउने सम्भावना पनि रहेको छ। सन् २०१६–१७ को सिजनदेखि उनी एक्कासी चर्चामा आएका थिए। एजेन्सी
Comments