काठमाडौं २ साउन । फ्रान्सले दोस्रो पटक विश्वकपको उपाधि जितेपछि आइतबार राति केलियन एम्बाप्पेले ट्रफीलाई चुम्दै गरेको तस्बिर राखेर ट्वीट गरे( माई लभ।
आइतबार राति भएको क्रोएशियाविरूद्धको खेलमा एम्बाप्पेले एक गोल हानेका थिए। ४ गोल गरेका १९ वर्षीय एम्बाप्पे २१ औं संस्करणको विश्वकपमा उत्कृष्ट युवा खेलाडी बने। पहिलो पटक विश्वकप खेलेका एम्बाप्पेले ब्राजिलका महान फुटबलर पेलेका तीन रेकर्ड बराबर गरिदिएका छन्।
अर्जेन्टिनाविरूद्धको खेलमा २ गोल गरेपछि विश्वकपको एउटै खेलमा २ गोल गर्ने एम्बाप्पेले दोस्रो टिनएजर खेलाडी बने। यसअघि पेलेले सन् १९५८ मा विश्वकपको एकै खेलमा २ गोल गरेका थिए।
विश्वकपको फाइनलमा गोल गर्ने टिनएजरको रेकर्ड पनि पेलेका नाममा थियो। क्रोएशियाविरूद्धको खेलमा गोल गरेर एम्बाप्पेले त्यो रेकर्ड पनि बराबर गरिदिए। स्विडेनविरूद्धको फाइनल खेलमा गोल गर्दा पेले १७ वर्षका थिए।
पेलेले पहिलो विश्वकप खेल्दा ब्राजिलले उपाधि चुमेको थियो र उनी उत्कृष्ट युवा खेलाडी बनेका थिए। यसपालि एम्बाप्पेले पहिलो विश्वकप खेल्दा फ्रान्सले उपाधि जितेको छ र उनी उत्कृष्ट युवा खेलाडी बनेका छन्।
आफ्ना धेरै रेकर्ड एम्बाप्पेले बराबर गरेपछि ७७ वर्षिय पेलेले एम्बाप्पेको त्यही ट्वीटलाई कोट गर्दै हौसलादिएर लेखे(केलियनले यसैगरी मेरा सबै रेकर्ड बराबर गर्दै गए भने धुलो टक्कटकाएर मैले फेरि बुट लगाउनु पर्छ। एजेन्सी
Comments