काठमाडौं २७ असार । विम्बल्डन टेनिसको सेमिफाइनलको समिकरण पुरा भएको छ । सेमिफाइनलमा अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्स, जर्मनीकी जुलिया जर्ज, जर्मनीकी एन्जेलिके कर्वर र लाट्भियाकी एलेना ओस्टापेन्को पुगेका छन् ।
वर्षको तेस्रो ग्राण्डस्लाम टेनिसको क्वार्टरफाइनलमा इटालियन खेलाडी क्यामिला जियोर्जीलाई २–१ को सेटमा हराउँदै सेरेनाले सेमिफाइनलमा पुगेकी हुन्। पहिलो सेटमा ३–६ ले पछि परेकी सेरेनाले दोस्रो सेट ६–३ र तेस्रो तथा निर्णायक सेट ६–४ ले जितिन्।
भोलि हुने सेमिफाइनलमा सेरेनाले १३ औं वरियताकी जुलिया जर्जसँग खेल्नेछिन् । जर्मनीकी जर्जले फ्रान्सकी किकी बर्टेन्सलाई २–१ कै सेटमा हराएकी थिइन् । पहिलो सेटमा ३–६ ले पछि परेकी जुलियाले किकीलाई पछिल्लो दुई सेटमा ७–५ र ६–१ ले हराउँदै सेमिफाइनलको यात्रा पक्का पारिन् ।
अर्को सेमिफाइनलमा जर्मनीकी एन्जेलिके कर्वर र लाट्भियाकी एलेना ओस्टापेन्को खेल्नेछन् । कर्वरले रसियाकी डारिया कासाट्कीनालाई ६–३ र ७–५ ले हराएकी थिइन् । ओस्टापेन्कोले भने स्लोभाकियाकी डोमिनिका सिबुल्कोभालाई ७–५ र ६–४ ले हराइन् ।एजेन्सी
Comments