काठमाडौं । स्विडेन विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ । स्विडेनले स्विट्जरल्याण्डलाई १–० गोलले पराजित गरी विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो ।
स्विडेनका लागि विङर एमिल फोर्सबर्गले निर्णायक गोल गरे । पहिलो हाफमा स्विट्जरल्यान्डले अधिकांश पोजेसन राखे पनि दुवै टोली गोल गर्न असफल रहे । दोस्रो हाफमा भने स्विडेन गोलको खाता खोल्न सफल रह्यो । अधिकांश समय स्विट्जरल्याण्डले खेल नियन्त्रणमा लिएको थियो । राम्रो खेलेर पनि स्विट्जरल्याण्ड हार्न पुग्यो । पहिलो हाफ गोलरहित बराबरीमा रोकिए पनि दोस्रो हाफमा ६६औं मिनेटमा ओला टोइभोनेनको पासमा फोर्सबर्गले डिबक्स बाहिरबाट गरेको सशक्त प्रहार गरेको बल गोल हुन पुग्यो ।
खेलको अन्तिम मिनेटमा स्विडेनको काउन्टर एट्याक रोक्न खोज्दा मिचेल ल्यांगले म्युनअल अकाञ्जीलाई फल गरेपछि उनले रातो कार्ड पाएपछि खेलको अन्तिम केही सेकेण्ड स्विस टोली १० खेलाडीमा समेटिएको थियो ।
साविक विजेता जर्मनी रहेको समूह ‘एफ’ मा विजेताका रुपमा स्विडेन अन्तिम १६ मा छनोट हुन सफल भएको थियो । अर्को तर्फ, ब्राजिललाई पहिलो खेलमा १–१ को बराबरीमा रोकेको स्विट्जरल्याण्ड समूह ‘ई’ को उपविजेता रहेको थियो ।
यस अघि उरुग्वे, फ्रान्स, रुस, क्रोएसिया, ब्राजिल र बेल्जियमले अन्तिम ८ मा स्थान बनाइसकेका छन् भने पोर्चुगल, अर्जेन्टिना, स्पेन, डेनमार्क, मेक्सिको र जापान बाहिरिएका छन् । अब स्विडेनले क्वाटरफाइनलमा इंग्ल्यान्ड र कोलम्बियाको विजेतासंग भिड्ने छ ।
Comments