काठमाडौ, ९ असार । उनीहरु स्तब्ध थिए । खेलाडीहरुले प्रशिक्षकलाई प्रतियोगिताको बीचमा नै बर्खास्त गर्न माग गरिरहेका थिए, प्रशिक्षक स्वयम् खेलाडीहरुलाई आरोप लगाइरहेका थिए र टेलिभिजन प्रस्तोताहरु समाप्त भएको विश्वकपको सपनाको लागि मौनधारण गरिरहेका थिए ।
यसका बावजुद अर्जेन्टिना र लियोनेल मेस्सीको आशा बाँकी नै छ । थोरै भए पनि । अर्जेन्टिनाको फुटबलका लागि हिरोको नाम लिँदा अहमद मुसाको नाम कहीँ कतै आउँदैन । वास्तवमा सन् २०१४ को प्रतियोगितामा नाइजेरियाबिरुद्ध अर्जेन्टिनाले ३–२ को संघर्षपूर्ण जीत निकाल्दा उनैले दुई गोल गरेका थिए ।
तर, भोल्भोगार्डमा यिनै मुसाले दुई गोल गर्दा नाइजेरियाले आइसल्याण्डलाई २–० गोलअन्तरले हराएको छ । जसले नकआउट चरणमा पुग्ने अर्जेन्टिनाको आशा पुनर्जागरित गरिदिएको छ । अब नकआउट चरणमा पुग्ने वा नपुग्ने विषय अर्जेन्टिनाको काँधमा छ ।
अब समूह डीको अन्तिम खेलमा नाइजेरियाविरुद्ध जीत निकाले मेस्सी एण्ड कम्पनीलाई नकआउट चरणमा पुग्ने ढोका खुल्नेछ । यद्यपि, आइसल्याण्डले परिवर्तित क्रोएसियाको टोलीविरुद्ध जीत निकाले, त्यो पनि अर्जेन्टिनाभन्दा राम्रो नतिजासहित, अर्जेन्टिनाको सपना चकनाचुर हुनेछ ।
अर्जेन्टिनालाई बराबरी गरेर मात्र पनि पुग्दैन । यस्तो अवस्थामा आइसल्याण्डले क्रोएसियलाई पराजित गर्न नसके नाइजेरिया अर्को चरणमा पुग्नेछ । यद्यपि, नाइजेरियाको हालसम्मको प्रदर्शन हेर्दा अर्जेन्टिनाका लागि अन्तिम खेलमा जीत निकाल्नु भनेको ठूलै पहाड फोड्नु सरह हुने पक्का छ ।
दुई खेलपछि दुईमा जित निकाल्दै क्रोएसियाले नकआउट चरणमा आफ्नो स्थान पक्का गरिसकेको छ । नाइजेरियाले १ मा जीत र १ मा हार बेहोर्दै तीन अंक बटुलेको छ र समूहको दोस्रो स्थानमा रहेको छ । उता, आइसल्याण्ड र अर्जेन्टिना दुवैले एकमा बराबरी र एकमा हार बेहोर्दै क्रमशः तेस्रो र चौँथो स्थानमा रहेको छ । एजेन्सी
Comments