काठमाडौं ८ असार । रुसमा जारी विश्वकप फुटबलमा विभिन्न रोचक घटना सुनिन थालेका छन् । यसै रोचक घटनामध्ये एक हो खेलाडीसँग रेफ्रीले जर्सी मागेको । रेफ्रीले जर्सी माग्नुको मुख्य कारण खेलाडीसँग प्रभावित भएर हो । त्यो पनि खेल मैदान मै ।अझ रोचक कुरा त केछ भने हाफ टाइममा नै रेफ्रीले जर्सी मागेका हुन् । ती हुन् अमेरिकी रेफ्री मार्क गाइगर । उनले क्रिष्टियानो रोनाल्डोसँग प्रभावित भएर उनको जर्सी मागेका समाचार आएका छन् ।
तर, विश्व फुटबलको प्रशासकीय निकाय फिफाले भने रेफ्रीले रोनाल्डोसँग जर्सी नमागेको र यो आरोप पूर्णरुपले झुठ रहेको बताएको छ । मोरक्कोका नोर्डिन अमराबातले रेफ्रीले हाफ टाइममा रोनाल्डोसँग जर्सी मागेको बताएका थिए । तर फिफाले भने त्यसको आलोचना गरेको हो । रेफ्रीले पूर्ण रुपले व्यवसायिक भएर काम गरेको फिफाको भनाई छ ।
तर वाट्फोर्डका विंगर अमराबातले भने पोर्चुगलका पेपेले यो कुरा आफूलाई सुनाएको बताएका छन् । उनले डच टेलिभिजनसँग यस्तो बताएका हुन् । रोनाल्डोबाट रेफ्री निकै प्रभावित भएको उनको भनाई छ । बुधबार बेलुका पोर्चुगलले मोरक्कोसँग खेलिरहेको थियो । यो खेलमा रेफ्री गाइगर थिए । एजेन्सी
Comments