काठमाडौँ ६ असार । विश्वकपमा गएराति भएको खेलमा पोल्याण्डलाई सेनेगलले पराजित गरेको छ । १६ वर्षपछि विश्वकपमा फर्केको सेनेगलले २,१ गोलले ऐतिहासिक जित हात पारेको हो । समूह ‘एच’ मा रहेका राष्ट्रहरुमध्ये पोल्याण्ड उक्त समूहमा सबैभन्दा बलियो राष्ट्र भएको खेल विश्लेषकहरुले बताउँदै आइरहेका थिए । खेलमा डिफेन्डर र गोलकिपरले गल्ती गर्दा पराजय ब्यहोर्नुपर्यो।
खेलको २७ औं मिनेटमा थियागो सियोनिले आत्मघाति गोल हानेपछि सेनेगलले अग्रता लिएको थियो । त्यस्तै ६० औं मिनेटमा पोल्याण्डका खेलाडीले दिएको ब्याकपास कमजोर हुँदा सेनेगलका खेलाडी एमबाए नियाङले बल नियन्त्रणमा लिइ गोलकिपर सेन्जीलाई नै बिट गरेर गोल गरेका हुन् ।
त्यसपछिको समयमा पोल्याण्डले आक्रामक खेल खेल्यो । खेलको ८६ औं मिनेटमा जिगोर्जेज क्रिचोकले गोल गरेर खेल २–१ मा ल्याए तर, बाँकी समयमा पोल्याण्डले गोल गर्न नसक्दा खेल सेनेगलको पक्षमा गएको छ ।
Comments