काठमाडौं, २८ जेठ । प्रधानमन्त्री कप क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । अर्को विभागीय टोली नेपाल आर्मीलाई ६ विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो ।
आज त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा २१० रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको एपीएफले ४१.२ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।
एपीएफलाई उपाधि दिलाउन अनिलकुमार शाह र प्रदीप ऐरीले समान ६३–६३ रन बनाए । यस्तै पृथु बास्कोटाले ३२ रन, रोहितकुमार पौडेलले १५ रन र करण केसीले १५ रन बनाए । आर्मीका सोमपाल कामीले तीन र बिक्रम सोबले एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा २ सय ९ रन बनाएको थियो । आर्मीका लागि भिम सार्कीले ४५ रन बनाए । त्यस्तै, सोमपाल कामीले ३६ र कप्तान विनोद भण्डारीले ३५ रन बनाउँदा राजेश पुलामी मगरले २७, नरेश बुढाऐरले २० र अनिल कुमार मण्डलले १९ रन जोडे । एपीएफका लागि बलिङतर्फ करण केसीले ३, बसन्त रेग्मी र भुवन कार्कीले समान २–२ विकेट लिएका थिए ।
जितसँगै एपीएफले २० लाख रुपैयाँ पुरस्कार पाएको छ भने आर्मीले उपविजेता हुँदै १० लाखमा चित्त बुझायो । प्लेयर अफ दि सिरिज बनेका आर्मीका सागर पुनले १ लाख रुपैयाँ पुरस्कार पाए ।
Comments