काठमाडौं, २० चैत । टिम चौराह धनगढीले धनगढी प्रिमियर लिग (डिपिएल २ )क्रिकेट प्रतियोगितामा दोस्रो जीत दर्ता गरेको छ । आज भएको खेलमा महेन्द्रनगर युनाईटेडलाई ८ विकेटले हराउँदै धनगढीले दोस्रो जीत दर्ता गरेको हो ।
संघीय प्रहरी एकाइ कार्यालयको खेल मैदानमा टस हारेर ब्याटिङ गरेको महेन्द्रनगरले निर्धारित २० ओभरको खेलमा आठ विकेट गुमाउँदै १३१ रन बनायो । धनगढीले एक सय ३२ रनको विजयी लक्ष्य १८ ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥यो ।
धनगढीका लागि सुनिल धमलाले अविजित ४६ रन बनाए । उनले ४७ बलमा दुई छक्का र चीन चौका हाने । रोहन मुस्तफाले ३० बल खेल्दै ३९ रन बनाए । उनले तीन छक्का र एक चौका प्रहार गरे । यस्तै अस्फाक अहमदले २४ बलमा ६ चौकासहित ३० तथा सोनु तमाङले अविजित रहँदै १५ रन बनाए । बलिङतर्फ महेन्द्रनगरका पुनित मेहरा र अविनाश कर्णले एक एक विकेट लिए ।
यसअघि ब्याटिङ गर्दै महेन्द्रनगरका पुनितले ४० तथा भुवन कार्कीले ३२ रन बनाए । पुनीतले २२ बलमा दुई छक्का र चार चौका प्रहार गरे । भुवनले ४० बलमा एक छक्का र दुई चौका हाने । यस्तै पुनित विष्टले २४ तथा कप्तान विनोद भण्डारीले ११ रन बनाए । बलिङतर्फ धनगढीका लागि ‘प्लेयर अफ द म्याच’ ललितसिंह भण्डारीले चार विकेट लिए । कप्तान सोमपाल कामी र शम्शेद शेखले एक एक विकेट लिए ।
जितसँगै तीनमा दुई खेल जितेको धनगढी अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ । दुईमा एक खेल जितेको महेन्द्रनगर चौथो स्थानमा छ ।
धनगढीले महेन्द्रनगरलाई ८ विकेटले हरायो
0
Share.
Comments