काठमाडौं ५ चैत । रोनाल्डोको चार गोल मद्दतमा स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जिरोनालाई ६,३ गोलले हराएको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई जिताउन रोनाल्डोले चार गोल गरे ।
१० औं मिनेटमा नै रोनाल्डोले गोलबाट रियलले अग्रता लिएको थियो । तर २९ औं मिनेटमा जिरोनाका स्तुएनीले गोल गरेर खेललाई १, १ को बराबरीमा ल्याए । ४८ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरे भने ५८ औं मिनेटमा वाज्क्वेजले पनि एक गोल थपे । ६४ औं मिनेटमा फेरि रोनाल्डोले गोल गर्दै ह्याट्रिक पूरा गरे । यो उनको खेल जीवनको ५० औं ह्याट्रिक हो ।
खेल ४, १ को स्थितिमा रहेका बेला ६८ औं मिनेटमा जिरोनाका स्तुएनीले व्यक्तिगत दोस्रो गोल गरेर खेललाई ४,२ को अवस्थामा ल्याए ।रियलका लागि ८६ औं मिनेटमा बेलले एक गोल गरे । त्यसको तीन मिनेटपछि जिरोनाका लागि लोपेजले हेडमार्फत् गोल गरेपछि खेल ५, ३ को अवस्थामा थियो । रोनाल्डोले खेलको इन्जुरी समयको पहिलो मिनेटमा व्यक्तिगत चौथो गोल गर्दै रियल मड्रिडलाई ६, ३ को जित दिलाए । जितपछि रियल मड्रिड २९ खेलबाट ६० अंक बटुल्दै अंकतालिकाको तेस्रो स्थानमा छ ।
Comments