काठमाडौं, २ चैत । नेपालले पहिलो पटक आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएको छ। नेपालले क्रिकेटको २२ वर्षे इतिहासमा यो मान्यता पाएको हो । यससँगै नेपालले पहिलो पटक वान डेको आईसीसी क्यालेण्डरमा प्रवेश पाएको छ ।
नेपालले यसअघि ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएको थियो । आईसीसीले नेपाल क्रिकेट संघ क्यान निलम्बन गरेको लामो समय भएपनि नेपालले वान डे मान्यता पाउन सफलता पाएको छ।
अब नेपाल सन् २०२२ सम्मका लागि अन्तर्राष्ट्रिय वान डे समुहमा रहनेछ । जिम्बाबेमा जारी एकदिवसीय विश्वकप छनोट अन्र्तगत प्ले अफमा नेपालले बिहीबार पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गरेको थियो । साथै बिहीबार नै भएको अर्को प्लेअपमा नेदरल्याण्डस्ले हङकङलाई ४४ रनले पराजित गरेपछि नेपाललाई वान डे क्रिकेटको अन्तर्राष्ट्रिय मान्यता पाउन सफलता प्राप्त भएको हो ।
नेदरल्याण्डस्ले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको हङकङ १ सय ३० रनमा समेटिएपछि नेपालले सीधै अन्तर्राष्ट्रिय वान डेको मान्यता पाएको छ।
यसअघि हरारेमा पपुवा न्यु गिनीले दिएको १ सय १५ रनको लक्ष्य नेपालले २३ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो। पराजयपछि पीएनजीको वान डे मान्यता भने खोसिएको छ । नेपालको जितमा दीपेन्द्र सिंह ऐरीले नटआउट ५० रन बनाए । यस्तै आरिफ शेख २६ र क्याप्टेन पारस खड्काले २० रनको योगदान गरे ।
ओपनर ज्ञानेन्द्र मल्ल एक र अनिलकुमार साह ९ रनमा आउट भएपछि संकटमा परेको नेपाली इनिङ्स दीपेन्द्र र आरिफले सम्हालेका हुन् । ३५ रन जोड्दा ३ विकेट गुमाएको स्थिति सम्हाल्दै चौथो विकेटका लागि उनीहरुले ६७ रनको साझेदारी गरेका थिए । रोहितकुमार पौडेल ३ रनमा नटआउट रहे ।
यसअघि हरारेमा टस जितेर नेपालले बलिङ रोजेपछि व्याटिङ गरेको पपुवा न्युगिनी २७ ओभर २ बलमा १ सय १४ रनमा समेटिएको थियो । पीएनजीलाई सस्तैमा समेट्न सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान चार–चार विकेट लिए । सोमपाल कामी र करण केसीको नाममा समान एक एक विकेट रह्यो ।
दिपेन्द्रको बलमा एलबीडब्लु धरापमा पर्नुअघि कार्लेस अमिनिले सर्वाधिक १९ रन बनाए । नेपाली वलरले १७ रन अतिरिक्त उपहार दिएका थिए । नेपालले आगामी शनिबार एकदिवसीय बिश्वकप छनोट प्रतियोगिताको सातौं स्थानका लागि नेदरल्याण्डस्सँग प्रतिस्पर्धा गर्नेछ ।
Comments