काठमाडौं, २५ फागुन । आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गतको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ ।
जिम्बाबेको बुलावायोस्थित क्विन्स स्पोर्टस क्लबमा हिजो भएको स्कटल्याण्डविरुद्धको खेलमा नेपाल चार विकेटले पराजित भएको हो । यसअघि भएको पहिलो खेलमा भने नेपाल जिम्बाब्वेसँग ११६ रनले पराजित भएको थियो । दोस्रो हारसँगै सुपर सिक्समा पुग्ने नेपालको लक्ष्यमा धक्का लागेको छ ।
१५० रनको चुनौती पाएको स्कटल्याण्डले ४१ दशमलव तीन ओभरमा ६ विकेट गुमाउदै १५३ रनको योगफल बनायो । स्कटल्याण्डको जितमा काइल कोएट्जरले अविजित ८८ रनको पारी खेले । त्यस्तै वालेसले १७, कलुम म्यालेओडले १५ तथा म्याथ्यु क्रसले १४ रन जोडे । नेपालका वसन्त रेग्मी र सोमपाल कामीले समान दुई÷दुई विकेट लिए भने ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले एक÷एक विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १४९ रनमा समेटियो । नेपाली टोलीको कप्तान पारस खड्काबाहेक अन्य खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । कप्तान खड्काले सर्वाधिक ६३ रनको योगदान दिएका हुन् । त्यसैगरी सोमपाल कामीले १८, रोहितकुमार पौडेलले १५ रन जोडे भने वसन्त रेग्मी २४ रनमा नटआउट रहे । दीपेन्द्र सिंह ऐरी एक तथा शरद भेषावकर शून्यमा आउट भए भने आरिफ शेखले २ रन जोडे । स्कटल्यान्डका ह्वीटिङ्घमले ३ विकेट लिए भने सरिफले २ विकेट लिए ।
नेपालले अफगानिस्तान र हङकङसँग खेल्न बाँकी छ । अब नेपालले शनिबार हङकङसँग खेल्नेछ ।
नेपालको दोस्रो हार, स्कटल्याण्डसँग ४ विकेटले पराजित
0
Share.
Comments