भक्तपुर, ८ फागुन । भक्तपुर नगरपालिकाद्वारा आयोजना गरिएको अन्तर मेयर कप पुरुष भलिबल प्रतियोगिता २०७४ को उपाधी सूर्यबिनायक नगरपालिकाले जितेको छ । आज भएको फाइनल खेलमा सूर्यबिनायकले गोदावरी नगरपालिका कैलालीलाई ३–१ को सेटमा पराजित गरी उपाधी जितेको हो ।
सुर्यविनायक नगरपालिकालाई गोदावरी नगरपालिकाले पहिलो सेटमा २४–२६ ले हराएको थियो भने दोस्रो, तेस्रो र चौथो सेटमा सुर्यविनायक नगरपालिकाले २५–२३, २५–२३ र २५–१६ अंकले गोदावरी नगरपालिकालाई हराई उपाधी कब्जा गरेको हो ।
फागुण ३ गतेबाट सुरु भएको प्रतियोगितामा २१ वटा नगरपालिकाको सहभागी रहेको थियो । सो प्रतियोगितामा ललितपुर महानगरपालिकालाई हराएर तिलोत्तमा नगरपालिका रुपन्देही तेस्रो भएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई रु १ लाख ५१ हजार नगद सहित ट्रफी पुरस्कार नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव प्रेम सुवालले हस्तान्तरण गरेका थिए । भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले दोस्रो हुनेलाई नगद रु ७५ हजार, तेस्रो हुनेलाई नगद रु ३० हजार र चौथो हुनेलाई नगद रु २० हजार सहित ट्रफी प्रदान गरेका थिए ।
अन्तर मेयर कप पुरुष भलिबलको उपाधी सूर्यबिनायक नगरपालिकालाई
0
Share.
Comments