एजेन्सी, २१ माघ । स्पेनिस ला लिगामा साविक विजेता रियल म्याड्रिडको खराब लय कायम रहेको छ । गए राति भएको खेलमा म्याड्रिड लेभान्टेसँग २–२ को बराबरीमा रोकिएको हो । यो सिजन ला लिगामा निक्कै खराव लयमा देखिएको रियलको यो लिगमा छैटौं बराबरी हो ।
रियल म्याड्रिडका लागि कप्तान सर्जियो रामोसले खेलको एघारौं मिनेट र ८१ औं मिनेटमा इस्कोले गोल गरे । यस्तै, लेभान्टेका लागि इमानुयल बोएटाङले ४२ औं मिनेट र खेल सकिनु १ मिनेटअघि जियामपाउलो पाजिनीले गोल गरे ।
यस नतिजासँगै रियलको २१ खेलमा ३९ अंक रहेको छ । दुई अंक गुमाउँदै रियलले तेस्रो स्थानमा उक्लिने अवसर गुमाएको हो । बार्सिलोना ५७ अंकसहित पहिलो स्थानमा रहेको छ भने एट्लेटिको म्याड्रिड ४६ अंकसहित दोस्रो स्थानमा रहेको छ । उत्तिकै खेलबाट भ्यालेन्सियाको ४० अंक रहेको छ ।
Comments