काठमाडौं, ५ मंसिर । महिला ट्वेन्टी ट्वेन्टी विश्वकपको एसिया क्षेत्रको छनौटमा आज नेपाल हङकङसँग भिड्दै छ । यसैबीच नेपालले थाइल्याण्डसँग हिजो खेलेको खेलमा अंक बाँडेको छ । थाइल्याण्डले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ३ ओभर ४ बल खेल्दा १० रन बनाएको अवस्थामा पानी परेपछि खेल बराबरी भएको हो ।
खेल बराबरीपछि नेपाल र थाइल्याण्डले १/१ अंक बाँडेका हुन् । बैंककमा पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट जाँदा ९० रन बनाएको हो । थाइल्याण्डलाई मध्यम स्कोरमा समेट्न नेपालकी सरिता मगरले २ विकेट लिइन । यस्तै रुविना क्षेत्री र करुणा भन्डारीले १/१ विकेट लिए ।
९१ रनको लक्ष्यसहित जवाफी व्याटिङ थालेको नेपालले ३ ओभर ४ बल खेल्दै १० रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको हो ।
हिजै भएका अन्य खेलमा हङकङले मलेसियालाई, युएइले चीनलाई हराएका छन् । राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोलीले नेदरल्याण्ड्समा हुने ट्वेन्टी ट्वेन्टी विश्वकप छनौटमा स्थान बनाउने छन् ।
नेपालका बाँकी खेल
५ मंसिर – हङकङविरुद्ध
७ मंसिर – युएईविरुद्ध
८ मंसिर – मलेसियाविरुद्ध
१० मंसिर – चीनविरुद्ध
Comments