काठमाडौं, १ मंसिर । अफगानिस्तानसँग ७ विकेटको हार व्यहार्दै नेपाल एसीसी यू(१९ एसिया कप क्रिकेटको सेमिफाइनलबाटै बाहिरिएको छ । आज मलेसियाको किनरारा ओभल मैदानमा भएको सेमिफाइनल खेलमा नेपाल अफगानिस्तानसँग सात विकेटले पराजित भएको छ ।
अफगानिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको नेपालले २८ ओभरमा १ सय ३ रन बनाउँदा सबै विकेट गुमाएको थियो । जवाफी ब्याटिङमा आएको अफगानिस्तानले १८ ओभरमा ९४ रन बनाउँदा पानी परेको थियो । वर्षा रोकिएपछि सुरु भएको खेल सुरु भएको केहीबेरमा नै अर्थात २०.३ ओभरमा ३ विकेट गुमाउँदै अफगानिस्तानले जित निकाल्यो ।
अफगानिस्तानका रहमान्नुलाह गुरबाजले ७१ यस्तै इक्राम अलिले १८ रन बनाए । इब्राहिम जदरान ३ रनमा आउट भए । कमल सिंह ऐरीको बलमा उनी क्याच आउट भएका हुन।
अफगानिस्तानका मुजिब उर रहमानले नेपाली पालीलाई सम्हालिन दिएनन । उनले नेपालको ६ विकेट लिए । आशिफ शेख शून्यमै मुजिब उर रहमानको बलमा एलबीडब्लू आउट भए । मुजिब उर रहमानकै दोस्रो ओभरमा १५ बलमा १ रन बनाएका जितेन्द्र सिंह आउट भए । २० बलमा ६ रन बनाउँदा दिपेन्द्र सिंह ऐरी, ७ बलमा ४ रन बनाउँदा रोहित कुमार पौडेललाई मुजिब उर रहमानले नै आउट गरे । अर्धसतक बनाएलगत्तै अनिल कुमार साह पनि मुजिब उर रहमानको बलमा आउट भए । उनले ५७ बलमा ७ चौका र एक छक्काको मद्धतमा ५० रन बनाए ।
भीम सार्की १९ बलमा ६ रन बनाउँदा रन आउट भए । १५ बलमा ८ रन बनाउँदा पवन सर्राफ अहमदको बलमा स्टम्पिङ भए । किशोर महतो मुजिब उर रहमानकै बलमा शून्यमै आउट भएका हुन् । यस्तै कमल सिंह ऐरी अहमदको बलमा शून्यमै आउट भए । १० बलमा ७ रन बनाउँदा सन्दिप लामिछाने रन आउट भए । साहब आलमले १५ बलमा ७ रन बनाए ।
समूह चरणमा पहिलो पटक भारतलाई पराजित गरेको नेपालले अफगानिस्तानलाई सेमिफाइनलमा हराउन सकेन ।
उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत पहिलो सेमिफाइनलमा पाकिस्तान बंगलादेशलाई हराएर फाइनल पुगिसकेको छ । अब अफगानिस्तानले पाकिस्तानसँग फाइनल खेल आइतबार खेल्नेछ ।
नेपालको यु १९ एसिया कपको फाइनल खेल्ने सपना पुरा भएन
0
Share.
Comments