काठमाडौं, २६ कात्तिक । एसीसी यू–१९ युथ एशिया कप क्रिकेटमा नेपालले टेष्ट मान्यताप्राप्त राष्ट्र भारतलाई हराएको छ । मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतलाई १९ रनले हराएको हो । भारतविरुद्ध नेपालको यो ऐतिहासिक जित हो ।
१८६ रनको लक्ष्य पच्छ्याएको भारत ४८ ओभर १ बलमा १६६ रन बनाउँदै सबै विकेट गुमाएर अल आउट भयो । मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा एक सय ८५ रन बनाएको हो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले एक सय १ बलमा ६ चौका र दुई छक्काको मद्दतमा ८८ रन बनाए ।
यस्तै जितेन्द्र सिंहले ९५ बलमा ३६ तथा भीम सार्कीले २२ बलमा १५ रन बनाए । भारतका आदित्य थाकरे र अभिषेक शर्माले दुई दुई विकेट लिए ।
भारतका तनुस कोटियान, मन्दीप सिंह खाता नखोली आउट भए । भारतका लागि सर्वाधिक रन हिमान्सु रानाले ४६ रन बनाए । उनी सहाव आलमको बलमा क्याच आउट भए । त्यस्तै मन्जोत कलराले ३५, अभिषेक शर्मा २७, अर्थव ताइदे १३, अनुज रावतले १८ रन बनाए ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृट प्रदर्शन गरे । दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिनुका साथै ८८ रन बनाए । नेपालका लागि सर्वाधिक दीपेन्द्र ऐरीले ४ विकेट, पवन सर्राफले २, सहाव आलम २, कमलसिंह ऐरी, सन्दिप लामिछानेले १÷१ विकेट लिए ।
पहिलो खेलमा बंगलादेशसँग पराजित नेपाल यस खेलमा भने जित हात पार्न सफल भए पछि दोस्रो चरणमा प्रवेशको आशा जिवितै रहेको छ।
भारतविरुद्ध नेपालको ऐतिहासिक जित
0
Share.
Comments