काठमाडौं २५ कार्तिक । एसिसी यू–१९ एसिया कपअन्तर्गत पहिलो खेलमा नेपाल बंगलादेशसँग २ विकेटले पराजित भएको छ। मलेसियाको किनरारा ओभलमा टस जितेको बंगलादेशले बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको नेपालले ४०।१ ओभरमा ६ विकेट गुमाएर १६७ रन जोड्यो।
वर्षाले खेल रोकिएर ४० ओभरमा १ सय ८१ रनको लक्ष्य पछ्याएको बंगादेशले खेल सकिनु १ बल बाँकी छँदै ८ विकेट गुमाएर भेट्टायो।बंगलादेशका लागि ओपनर नइम शेखले सर्वाधिक ५२ रनको योगदान गरे। उनलाई अनिलकुमार साहले आउट बनाए।अर्का ओपनर पिनाक घोष २४ रनमा आउट भए। उनी कलमसिंह ऐरीको एलबिडब्लुको धरापमा पारे। सइफ हसन १५ रनमा पेभेलियन फर्के। मोहमद रिड्डी १५ रन तथा अमिनुल इस्लाम शून्य रनमा आउट भए। अफिफ हुसेन ३३ रन बनाएर खेलिरहदा ३९ ओभरमा आउट भएपछि खेल नेपालको पक्षमा आएको थियो। त्यहि ओभरमा क्वाजी इस्लाम पनि शून्यमा आउट भए।
बलिङतर्फ सन्दीप लामिछाने र कमलसिंह ऐरीले २–२ विकेट लिए । सन्दीपले दुवै विकेट एलबिडब्लुमार्फत लिन सफल भए। किशोर महतो, दीपेन्द्रसिंह ऐरी र अनिलकुमार साहले १–१ विकेट हात पारे। यसअघि खेल वर्षाका कारण प्रभावित बनेपछि ४३ ओभरमा झारिएको थियो। नेपालका लागि रोहितकुमार पौडेल र भीम सार्कीले उत्कृष्ट ब्याटिङ गर्दै पाँचौं विकेटका लागि ७९ रनको साझेदारी गरे। भीमले नेपालका लागि सर्वाधिक ४४ रन जोडे। रोहितले आउट हुनुअघि ४० रनको योगदान गरे।
नेपालका ओपनर आसिफ शेख ३० रनमा आउट भए। उनले ५२ बल खेलेर ३ चौका प्रहार गरेका थिए। अर्का ओपरन जितेन्द्रसिंह ६ रनमा आउट भए। यस्तै, अनिलकुमार साह १९ रन जोडेर आउट भए। कप्तान दीपेन्द्रसिंह ऐरी १२ रन बनाएर खेलिरहँदा एलबिडब्लूको धरापमा परेका थिए। बलिङतर्फ बंगलादेशका नइम हसनले २ विकेट लिए। हसन मोहम्मद, काजी इस्लाम र अफिफ हुसेनले १–१ विकेट लिए।
Comments